
स्थानीय तह निर्वाचनको तेस्रो चरणअन्तर्गत प्रदेश नम्बर २ का ८ जिल्लामा बिहान ७ बजेदेखि उत्साहजनक रुपमा मतदान जारी छ । १३६ स्थानीय तहमा जनप्रतिनिधि चयनका लागि ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिष्पर्धामा छन् ।
यद्धपि मतदाताहरु ५ बजेपछि नै मतदान केन्द्र पुगेका थिए । राति पानी परेपछि कतिपय ठाउँमा जलमग्न र हिलाम्य जमिनको परवाह नगरी मतदाताहरु भोट हाल्न पंक्तिबद्ध भएका छन् । मतदान साँझ ५ बजेसम्म चल्नेछ।
प्रदेश नं. २ मा एक महानगर, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ स्थानीय तहमा ३७ हजार २ सय ३६ उम्मेदवार प्रतिस्पर्धामा रहेको निर्वाचन आयोगले जनाएको छ। उम्मेदवारको मृत्युका कारण राजविराज नगरपालिका वडा नम्बर १५ मा भने मतदान भएको छैन।
राजपाका तर्फबाट वडाध्यक्षका उम्मेदवार महन्थी यादवको मृत्यु भएपछि सो वडामा चुनाव स्थगित गरिएको हो। बिहान ७ बजेबाट सुरु भएको मतदान साँझ ५ बजेसम्म जारी रहनेछ।
कुन नेताले कहाँबाट भोट हाले?
अयोधिप्रसाद यादव
निर्वाचन आयोगका प्रमुख आयुक्त डा अयोधिप्रसाद यादवले बिहान ७.०० बजे मतदान गरे।
उनले सप्तरी सदरमुकामस्थित राजविराज नगरपालिकाको वडा नं २ आधारभूत विद्यालयमा रहेको मतदान केन्द्रमा पुगी मतदान गरेका हुन्। सो केन्द्रमा सर्वप्रथम उनले मतदान गरे।
माधवकुमार नेपाल
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले रौतहटको गौर नगरपालिका–२ स्थित जुद्ध मावि केन्द्रबाट मतदान गरेका छन्।
सीतादेवी यादव
नेपाली कांग्रेसकी कोषाध्यक्ष सीतादेवी यादवले सिराहा नगरपालिका– १५ स्थित सुखसैना केन्द्रबाट मतदान गरेकी छन्।
विमलेन्द्र निधि
नेपाली कांग्रेसका प्रभावशाली नेता विमलेन्द्र निधीले धनुषाको नगराइन नगरपालिका–२ को राजेश्वर उमावि केन्द्रबाट मत खसालेका छन्।
गिरिराजमणि पोखरल
स्वाथ्यमन्त्री गिरिराजमणि पोखरेललेले बर्दिबास नगरपालिका–३, गौरीडाँडा मतदान केन्द्रबाट भोट खसाल्दै छन्।
महन्थ ठाकुर
राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका अध्यक्ष महन्थ ठाकुरले सर्लाही बलरा नगरपालिकाबाट मतदान गर्दैछन्।
मातृका यादव
नेकपा माओवादी केन्द्रका नेता मातृका यादवले धनुषाको सबैला नगरपालिका-२ स्थित रामप्रसाद उमावि केन्द्रबाट मतदान गर्दैछन्।