| पार्टी | माओबादी |
| प्रदेशसभा/प्रतिनिधिसभा | प्रतिनिधिसभा |
| प्रदेश | ३ |
| जिल्ला | चितवन |
| क्षेत्र नं. | ३ |
| प्राप्त मत | 48269 |
माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ चितवन– ३ बाट निर्वाचित बन्नुभएको छ । राप्रपा प्रजातान्त्रिकका महामन्त्री विक्रम पाण्डेलाई ९ हजार मतान्तरले हराउँदै दाहाल निर्वाचित बन्नुभएको हो ।
दाहालले ४८ हजार २ सय ६९ मत प्राप्त गर्दा पाण्डेले ३८ हजार ९ सय ४२ मत पाउनुभयो ।
पूर्वप्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड ०११ साल मंसिर २६ गते कास्कीको ढिकुरपोखरीमा जन्मेका हुन् । पछि उनीहरुको परिवार चितवनमा बसाइँ सरेको हो ।
करिब ३ वर्ष शिक्षण पेशामा रहेका प्रचण्ड ०२८ सालदेखि राजनीतिमा लागेका हुन् । राजनीतिमा लागेको १० वर्षपछि ०३८ सालदेखि उनी भूमिगत भए । ०६३ सालमा सशस्त्र संघर्षको विश्रामपछि मात्रै उनी खुल्ला राजनीतिमा आएका हुन् । प्रचण्डको पूर्णकालीन राजनीति ०३५ सालबाटै सुरु भएको हो ।
प्रचण्डको वाल्यकालको नाम छविलाल दाहाल हो । कक्षा १० मा पढ्दाखेरि उनले नाम परिवर्तन गरेर पुष्पकमल दाहाल राखे । पछि पार्टीमा प्रचण्ड नामले चिनिन थाले ।
प्रचण्डको विवाह ०२६ सालमा १६ वर्षकै उमेरमा चितवनकी सीता दाहालसँग भयो हो, जतिबेला उनी कक्षा १० मा पढिरहेका थिए ।
कृषि विषयमा स्नातकसम्म अध्ययन गरेका प्रचण्डका तीन छोरी र एक छोरा रहेकोमा एक छोरी र एक छोराको ३ वर्षको अन्तरालमा असामयिक निधन भएको छ ।
राजनीतिमा लाग्ने क्रममा प्रचण्ड अहिलेसम्म जेल परेका छैनन् । ०३८ सालमा नेकपा चौम समूह अन्तरगतको युवक संगठनको अध्यक्ष हुँदै केन्द्रीय सदस्य, महामन्त्री र अध्यक्षसम्म बने । उनकै नेतृत्वमा ०५२ सालदेखि ०६२ सालसम्म १० वर्षे जनयुद्ध भयो ।
०३३ सालमा केही समय युएसएडमा जागिर खाएका प्रचण्डले गोरखाको आरुघाट स्कुलमा केही वर्ष पढाए ।
सुरुमा प्रचण्डले शाही सेनामा भर्ती हुने सोचाइ बनाएका थिए, तर उनी कम्युनिष्ट राजनीतिमा होमिएर देशको प्रधानमन्त्री बन्न सफल भए ।
०४२ सालमा विभाजित नेकपा मशालको पोलिटब्यूरो सदस्य बनेका उनले चर्चित ुसेक्टर काण्डु पछि मोहन वैद्यलाई विभिवत रुपमा विस्थापित गरेर पार्टीको महामन्त्री पद सम्हाले । त्यसयता उनी अनवरतरुपमा पार्टीको मुख्य नेतृत्वमा रहँदै आएका छन् ।
एक दबक लामो सशस्त्र संघर्षको नेतृत्व सम्हालेर आएका प्रचण्ड कठोर कम र भावुक बढी छन् । जस्तोसुकै परिस्थितिमा पनि घुलमिल हुन सक्ने र सिद्धान्तको जडलाई मात्रै समाएर नबस्ने भएकाले प्रचण्ड लचकदार एवं व्यवहारिक नेताका रुपमा परिचित छन् । शान्ति प्रक्रियामा आइसकेपछि उनले देखाएको लचकतालाई यसको दृष्टान्तका रुपमा लिन सकिन्छ ।
प्रचण्ड आफ्नो युद्धकालीन पृष्ठभूमि हुँदै अब एमालेसँग पार्टी एकता गर्ने ठाउँसम्म आइपुगेका छन् ।पहिलो संविधानसभामा रोल्पा र काठमाडौं दुबै ठाउँबाट चुनाव जितेका प्रचण्ड दोस्रो संविधानसभामा सिरहा ५ बाट निर्वाचित भए ।