कैलालीको निर्वाचन क्षेत्र नं ३ र ४ को प्रतिनिधिसभा सदस्यको निर्वाचनमा वाम गठबन्धन विजयी भएको छ ।
आज*सोमबार) बिहान सार्वजनिक गरिएको मत गणनाको अन्तिम नतिजाअनुसार निर्वाचन क्षेत्र नं ४ मा माओवादी केन्द्रका नेता लेखराज भट्ट ३१ हजार ३५९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका सुनिलकुमार भण्डारीले २० हजार ९६० मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
प्रदेशसभा (क) मा एमालेका जिल्ला अध्यक्ष दीर्घ सोडारी १६ हजार १५५ मतसहित विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका यज्ञराज चौधरीले ११ हजार ४२५ मत पाउनुभएको छ ।
यस्तै प्रदेश सभा (ख) मा एमालेका कृष्ण सुवेदी १६ हजार २२ मतले विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका हीरादत्त भट्टले ११ हजार ८०३ मत प्राप्त गर्नुभएको छ ।
निर्वाचन क्षेत्र नं ३ को प्रतिनिधिसभा सदस्यमा माओवादी केन्द्रका गौरीशंकर चौधरी २४ हजार ८७९ मत प्राप्त गरी विजयी हुनुभएको छ ।
उहाँका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका रामजनम चौधरीले २० हजार ४९४ मत प्राप्त गर्नुभएको छ । विसं २०४६ को परिवर्तन यता भएका निर्वाचनमा विजयी हुँदै आउनुभएका काँग्रेस नेता रामजनमको यो निर्वाचनमा विजयी यात्रा रोकिएको छ ।
प्रदेशसभातर्फ (ख) मा एमालेका अमरबहादुर साउँद ११ हजार ८७७ मतसहित विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्द्वी काँग्रेसका लक्ष्मणबहादुर शाहीले सात हजार ४९२ मत पाउनुभएको छ ।
प्रदेश सभा (क) को गणना अन्तिम चरणमा पुगेको छ । यो क्षेत्रमा वाम गठबन्धनका प्रत्यासी मत गणनमा अगाडि रहेका छन् ।
यसअघि आइतबार नै कैलाली निर्वाचन क्षेत्र पाँचको प्रतिनिधिसभा सदस्यको अन्तिम नतिजा घोषणा भइसकेको छ । यो क्षेत्रमा एमालेका नारदमुनी राना विजयी हुँदा काँग्रेस नेत्री डा आरजु राणा देउवा पराजित हुनुभएको छ ।
निर्वाचन क्षेत्र नं १ को मतगणना अन्तिम चरणमा पुगेको छ । निर्वाचन क्षेत्र नं २ को मतगणना जारी रहेको छ ।
नेपाल जापान एन्ड्रोइड एपका लागि यहाँ क्लिकगर्नुहोस् र आईफोन एपका लागि यहाँ क्लिकगर्नुहोस् ।