१८ हजार भन्दा बढीले उम्मेदवारी दर्ता गरे

Date:September 6, 2017

आगामी असोज २ गते स्थानीय तहको तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर दुईका आठ जिल्लाका १३६ वटा स्थानीय तहमा शान्तिपूर्ण र उत्साहजनक रुपमा उम्मेदवारी दर्ता भएको छ ।

निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा बुधबार भएको उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहजनक र शान्तिपूर्ण रहेको निर्वाचन आयोगले जनाएको छ ।

२१ गते बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ताका लागि समय निर्धारण गरिए पनि उम्मेदवारहरुको अत्यधिक सहभागिताका कारण पाँच बजेसम्म सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराउन चाहनेहरुको बाक्लो उपस्थित रहेको पाइएको आयोगले जनाएको छ ।

कतिपय मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ता गर्नेहरुको लामो लाम लागेको जानकारी आयोगको संयुक्त निर्वाचन सञ्चालन केन्द्र (जेइओसी) बाट प्राप्त भएको छ ।

मुख्य निर्वाचन अधिकृत÷निर्वाचन अधिकृतको कार्यालयमा निर्धारित समय ५ बजेभित्र प्रवेश गरिसकेका उम्मेदवारहरुको उम्मेदवारी दर्ता कार्य साँझ अबेरसम्म पनि सञ्चालन भएको थियो  ।

साँझ ६ः३० बजेसम्म आयोगमा प्राप्त विवरणअनुसार १८ हजार २ सय जना उम्मेदवारले मनोनयन दर्ता गराएका छन् । विवरण आउने क्रम जारी रहेको छ ।

पहिलो र दोस्रो चरणको स्थानीय तह निर्वाचनमा जस्तै तेस्रो चरणको प्रदेश नम्बर दुईको स्थानीय तहको निर्वाचनमा पनि व्यापक उम्मेदवारी परेको प्रारम्भिक अनुमान छ ।

यस निर्वाचनमा १ महानगरपालिका, ३ उपमहानगरपालिका, ७३ नगरपालिका र ५९ गाउँपालिका गरी १३६ वटा स्थानीय तहमा निर्वाचन हुँदैछ र निर्वाचनबाट ६ हजार ६२७ जना प्रतिनिधिहरु निर्वाचित हुनेछन् ।

संविधानसभाबाट जारी ‘नेपालको संविधान’ ले व्यवस्था गरेबमोजिम सातवटा प्रदेश र ७७ जिल्लाका ७५३ वटा स्थानीय तहमध्ये पहिलो चरणमा २०७४ वैशाख ३१ गते प्रदेश नम्बर ३, ४ र ६ का ३४ जिल्लाका २८३ वटा स्थानीय तह र दोस्रो चरणमा प्रदेश नम्बर १, ५ र ७ का ३५ जिल्लाका ३३४ गरी जम्मा ६१७ वटा स्थानीय तहको निर्वाचन सम्पन्न भइसकेको छ ।

प्रदेश नम्बर दुईको जारी निर्वाचन प्रक्रिया सम्पन्न भएपछि नेपालको संविधानले व्यवस्था गरेअनुसार सबै स्थानीय तहको निर्वाचन सम्पन्न हुने आयोगका प्रवक्ता नवराज ढकालले जानकारी दिए ।

यो पनि पढ्नुहोस्

उम्मेदवारी मनोनयन दर्ता कार्य उत्साहपूर्ण


Loading...

Facebook