
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभा झापा क्षेत्र नम्बर ५ बाट निर्वाचित हुनुभएको छ ।
उहाँले ५७१३९ मत पाएर बिजयी हुनुभएको हो । यो निर्वाचनमा अहिलेसम्म विजयी उम्मेदवारले ल्याएको मत मध्ये ओलीको मत सर्वाधिक हो । उहाँको निकटतम प्रतिस्पर्धी नेपाली काग्रेसका डा खगेन्द्र अधिकारीले २८२९७ मत पाउनुभयो ।
विसं ०२८ सालमा झापा सशस्त्र क्रान्तिको नेतृत्व गरेर राजनीतिमा आउनुभएका ओली ०४६ सालसम्म १४ वर्ष जेल जीवन बिताउनुभएको थियो । ०४७ मा प्रजातान्त्रिक युवा संघको संस्थापक अध्यक्ष बन्नभएका उहाँ ०४८ सालमा एमालेबाट झापा ५ मा निर्वाचित भई ०५१ मा बनेको पहिलो कम्युनिस्ट सरकारको गृहमन्त्री बन्नुभयो ।
दोस्रो जनआन्दोलन सफल भएपछि ०६३ मा अन्तरिम सरकारमा उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री रहनुभएका ओली ०७२ सालमा संविधान जारी भएपछि प्रधानमन्त्रीमा निर्वाचित हुनुभयो ।
पहिलो संविधानसभा निर्वाचनमा झापा ७ मा माओवादीका विश्वदीप लिङदेनबाट पराजित हुनुभएका ओली ०७० को दोस्रो संविधासभा निर्वाचनमा झापा ७ बाट निर्वाचित हुनुभएको थियो । प्रधानमन्त्री बनेपछि ओलीको छवि राष्ट्रवादी नेताका रुपमा स्थापित भएको छ ।
नेकपा एमालेको ०७१ मा सम्पन्न नवौं महाधिवेशनबाट अध्यक्ष निर्वाचित हुनुभएका ओली भावी प्रधानमन्त्रीका दाबेदार हुनुहुन्छ । वाम गठबन्धनले बहुमत ल्याएमा केपी ओली पाँच वर्षका लागि प्रधानमन्त्री बन्ने सम्भावना छ ।