
प्रदेश नं २ मा हुने स्थानीय तहको तेस्रो चरण निर्वाचनका लागि पर्सामा सौहार्दपूर्ण वातावरणमा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवारले मनोनयन दर्ता गराएका छन् ।
विहान १० बजेदेखि सुरु भएको मनोनयन दर्ता हालसम्म जारी रहेको छ । एक महानगर, तीन नगर र दश गाउँपालिकाकाको विभिन्न ४७६ पदका लागि राजनीतिक दलदेखि स्वतन्त्र उम्मेदवारले तोकिएको स्थानमा पुगी मनोनयन दर्ता गराउने क्रम राति ८ बजेसम्म चलेको मुख्य निर्वाचन अधिकृत विष्णु सुवेदीले जानकारी दिनुभयो ।
उहाँले अपराह्न ५ बजेभित्र कार्यालय परिसरमा प्रवेश गरेका उम्मेदवारको मनोनयन दर्ता गर्ने कार्य चलिरहेको बताउनुभयो । २ नं प्रदेशको एक मात्र वीरगन्ज महानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा क्रमशः नेपाली काँग्रेसका तर्फबाट अजयकुमार द्विवेदी र शान्ति कार्की, नेकपा (एमाले)का तर्फबाट बसरुद्दिन अन्सारी र सोफिया आचार्य तथा नेकपा (माओवादी केन्द्र) का तर्फबाट रहबर अन्सारी र दुर्गा क्षेत्रीले मनोनयन दर्ता गराउनुभएको छ ।
यस्तै संघीय समाजवादी फोरम नेपालका तर्फबाट विजय सरावगी र पिन्कीदेवी यादव, राष्ट्रिय जनता पार्टी नेपालको तर्फबाट राजेशमान सिंह र रम्भा मिश्र, नेपाल लोकतान्त्रिक फोरमबाट विमल श्रीवास्तव र रिंकु यादवले मनोनयन दर्ता गराउनुभएको मुख्य निर्वाचन अधिकृत सुवेदीले जानकारी दिनुभयो ।
उहाँले मनोनयन दर्ता जारी नै रहेका कारण उम्मेदवारी दिनेको संख्या हाल एकिन हुन नसकेको बताउनुभयो ।