
लहान नगरपालिकाका मेयरमा एमालेका मुन्नी साह र उपमेयरमा सरियार चौधरीले विजयी भएका छन् । मधेस आन्दोलनको उदगम स्थल सिरहाको लहान नगरपालिकामा एमाले फराकिलो अन्तरले विजयी भएको हो ।
मुन्नीले २१ सय ३० मतको फराकिलो अन्तरले नेपाली कांग्रेसका उम्मेद्वारलाई हराए । उनले ११ हजार ३०७ मत ल्याएर बिजयी भए । निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार अचमितलाल चौधरीले ९ हजार १७७ मत पाए । त्यसैगरी उपमेयर सरियार चौधरीले १२ सय ६२ को फराकिलो मत अन्तरले नेपाली कांग्रेसका पुनम चौधरीलाई हराए । सरियारले ११ हजार १६८ मत ल्याएर उपमेयरमा बिजयी बने । निकटतम प्रतिद्वन्द्वी पुनम चौधरीले ९ हजार ९०६ मत प्राप्त गरेकी छन् ।
२४ वटा वडा रहेको लहान नगरपालिकामा नेकपा एमालेले वडानम्बर ५, ९, १०, ११, १३, १७, १८, १९, २४ मा जीत हासिल गरेको छ ।
वडा नम्बर १, २, ३, ४, ६, १२, १४, १५, १६ र २३ मा नेपाली कांग्रेस बिजयी भएको छ । त्यसैगरी संघीय समाजवादी फोरम नेपालले ३ र माओवादी केन्द्रले २ वटा वडा जितेका छन् । सिरहा जिल्लाको सबैभन्दा बढी मतदाता रहेको लहान नगरपालिकामा ४७ हजार ३ सय मतदाता रहेका छन् । २४ हजार ३ सय २० पुरुष र २२ हजार ९ सय ८० महिला मतदाता छन् । असोज दुई गते सम्पन्न स्थानीय तह निर्वाचनमा ३४ हजार १८१ मत खसेको थियो ।
मुन्नी साहले २०५४ सालमा नेकपा एमालेको तर्फबाट लहान नगरपालिकाको एक कार्यकाल स्थानीय निकाय सञ्चालन गरिसकेका छन् ।उनले स्थानीय निकायको नेतृत्व गरेदेखि लहानले व्यवस्थित नगर विकासले गति लिएको थियो । लहान नगरपालिका भित्र सडक सञ्जाल र ढल निकासको ब्यवस्था गरी लहानमा विकासको जग बसाएका साह लहान नगरपालिकामा सबैको मनमा बसेका विकासप्रेमी निष्ठवान नेताको रुपमा चिनिन्छन् । मुन्नी साह संविधान सभा निर्वाचन २०७० मा पनि सिरहाको निर्वाचन क्षेत्र एकबाट तत्कालीन माओवादीको तर्फबाट चुनाव लडेका थिए ।