
कैलाली क्षेत्र नम्बर १ बाट प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा रहेका रेशम चौधरी विजयी भएका छन्।
राष्ट्रिय जनता पार्टीका उम्मेदवार चौधरीले ३४ हजार ३ सय ४१ मत ल्याएर विजय हासिल गरेका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी गरिमाकुमारी शाहले १३ हजार ६ सय ४ मत पाएकी छन् भने नेपाली कांग्रेसकी ईश्वरी न्यौपानेले ११ हजार २ सय ३ मत पाइन्।
कैलाली क्षेत्रनम्बर १ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित रेशम चौधरीलाई विजयको प्रमाणपत्र कसरी दिने भन्नेमा मुख्य निर्वाचन अधिकृतको कार्यालय अन्योलमा परेको छ । कैलालीको टिकापुर हत्याकाण्डका आरोपी चौधरी फरार छन् । त्यसैले विजयी उम्मेदवारलाई प्रमाणपत्र बुझाउन मुख्य निर्वाचन अधिकृतको कार्यालयले पाएको छैन ।
कैलाली क्षेत्रनम्बर १ का मुख्य निर्वाचन अधिकृत खिमानन्द भुसालले के गर्ने भन्ने विषयमा निर्वाचन आयोगको निर्देशन आफूले कुरिरहेको बताए । ‘उहाँ आफै उपस्थित हुनुभयो भने हातैमा दिने, हुनु भएन भने हुलाकबाट पठाइदिने वा निर्वाचन आयोगलाई नै प्रमाणपत्र बुझाइदिने विकल्प छ,’ भुसालले भने, ‘के गर्ने भनेर निर्वाचन आयोगको निर्देशन कुरेको छु ।’
निर्वाचन सम्वन्धी ऐन र निर्वाचन अधिकृतहरुलाई दिइएको निर्देशनमा फरार उम्मेदवारलाई वारेसमार्फत् प्रमाणपत्र दिन मिल्ने कि नमिल्ने भन्ने कुरा स्पष्ट नभएकाले पनि अन्योल भएको हो ।
मुख्य निर्वाचन अधिकृत भुसालले स्थितिलाई सामान्यीकरण गर्नु नै बुद्धिमता हुने भएकाले उपयुक्त निर्णय लिइने बताए ।
विजय उत्सवको तयारी
राजपा उम्मेदवार चौधरी वाम गठबन्धनबाट एमालेकी उम्मेदवार गरिमा शाहलाई झण्डै २१ हजार मतअन्तरले पछि पार्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् । मंगलबार बिहान राजपा कार्यकर्ता र चौधरीका समर्थकहरु विजय उत्सव निकाल्ने तयारीमा छन् ।
विजय जुलुश हुलाकी राजमार्ग हुँदै हसुलिया, लालबोझी, भजनी हुँदै टिकापुरसम्म पुग्ने योजना बनाइएको छ । यी गाउँमा थारु समुदायको बाहुल्यता छ । विजय जुलुसलाई लक्षित गरी कैलाली क्षेत्रनम्बर १ मा सुरक्षा व्यवस्था कडा पारिएको छ ।
तीनवटै सुरक्षा निकायका जिल्ला प्रमुखहरु टीकापुरमा भेला भएका छन् । नेपाल प्रहरीका विनोद घिमिरे, सशस्त्र प्रहरीका श्याम कोइराला र अनुसन्धान विभागका योगेन्द्र केसी क्षेत्र नम्बर १ मा छन् । ठाउँ-ठाउँमा सादा पोशाकमा सीआईबीको टोली पनि परिचालन गरिएको छ ।