
चितवनको भरतपुर महानगरपालिकामा कसले जित्ला भन्ने खुल्दुली झनै बढेको छ। नेकपा माओवादी केन्द्र र नेपाली काँग्रेसको तर्फबाट संयुक्त उम्मेदवार बनेकी रेणु दाहाल यसबेला झण्डै साढे तीन हजार मतले पछि परेकी छन् भने नेकपा एमालेका उम्मेदवार देवी ज्ञवाली २५४९३ मतका साथ अग्रस्थानमा छन्। रेणुले २१८४७ मत पाएकी छन्।
भरतपुरका २९ मध्ये १४ ओटा वडाको मत गणना सकिँदा एमालेले १० वडाअध्यक्ष्य जित्न सफल भएको छ। बाँकी चार ओटा काँग्रेसले जितेको छ। अझै १५ ओटा वडाको मतगणना बाँकी छ। यति फराकिलो अग्रता कायम हुँदाहुँदै पनि चितवनको एमाले नेतृत्व चिन्तित देखिन्छ। किनभने स्थानीय नेतृत्वले हालसम्म मतगणना गरिएको क्षेत्रमा जति मतको अग्रता आफ्नो पार्टीले लिने अपेक्षा गरेका थिए, त्यो पूरा भएको छैन।
एमालेले आफ्नो पक्षमा धेरै मत खस्ने अपेक्षा गरिएका वडाहरु १०, ११ र १२ को गणना मंगलबार सकिएको छ र उसको अग्रता सोचेजति कायम हुन सकेन। मतगणनाको यो मोडसम्म आइपुग्दा एमालेले कम्तिमा पनि ५ हजार मतले अग्रताको अपेक्षा गरेको थियो। अब मतगणना हुने राप्ती छेउछाउका वडाहरुमा एमाले उम्मेदवारको परीक्षा हुनेछ। किनभने यी क्षेत्रमा एमालेको भन्दा काँग्रेस र माओवादीको मत बढी आउने अपेक्षा गरिएको छ।
त्यसैले देवी र रेणुको बीचमा रहेको मत अन्तर अब क्रमशः घट्ने अनुमान स्थानीयले गरेका छन्। यस्तोमा अबका क्षेत्रहरुमा काँग्रेसको कति मत एमालेले आफ्नो पोल्टामा पार्छ भन्ने कुराले नतिजा निर्धारित हुने बताइन्छ। निर्वाचनलगत्तै नै काँग्रेसको आधा मात्रै मत रेणुको पक्षमा गए पनि उनले जित्ने अनुमान गरिएको थियो। आजबाट सुरु भएका वडाहरुको परिणामले भरतपुर महानगरको मतगणनामा अझ रोचकता थप्नेछ