
ऐतिहासिक, धार्मिक र पौराणिक नगर जनकपुरको जनकपुर उपमहानगरपालिकाको मेयरमा राष्ट्रिय जनता पार्टी नेपालका उम्मेदवार १० हजार बढी मतले विजयी भएका छन ।
प्रदेश नम्बर २ को प्रस्तावित राजधानीको रुपमा हेरिएको जनकपुरमा राजपा नेपालका मेयर पदका उम्मेदवार लालकिशोर साहले २१ हजार ९०३ मत ल्याए भने उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार मनोज साहले ११ हजार १६४ मत प्राप्त गरे ।
यस्तै उपमेयरमा पनि राजपाकै रीता झा विजयी भएकी छिन् । उनले १७१४७ मत प्राप्त गरेकी छिन् भने उनकी निकटतम प्रतिद्वन्दी कांग्रेससकी उम्मेदवार निलम कर्णले १० हजार ६०५ मत पाएकी छिन् ।
जनकपुर उपमहानगरपालिकामा नेकपा एमाले तेस्रो स्थानमा रहेको छ । एमालेका मेयर पदका उम्मेदवारले ४ हजार ८६५ र उपमेयरमा ४ हजार ९७२ मत पाएका हुन् । उपमहानगरपालिकामा जम्मा ५१ हजार ५९९ सदर मत खसेको थियो ।