आइतबार अर्थात् वैशाख ३१ गते हुने स्थानीय तहको पहिलो चरणको निर्वाचन अन्तर्गत निर्वाचन आयोगले आज (बिहिबार)देखि मतदाता परिचयपत्र वितरण सुरु गरेको छ । यससँगै हरेक मतदान केन्द्रबाट निर्वाचन शिक्षाको विषयमा जानकारी पनि दिइनेछ ।
आयोगले वैशाख २८, २९ र ३० गते सबै मतदान केन्द्रबाट मतदाताको परिचयपत्र वितरण गर्ने गरीसक्ने जनाएको छ । त्यसका लागि ६ हजार ६ सय ४२ मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता-स्वयम्सेवक परिचालन गरिने भएको छ ।
सबै मतदान केन्द्रमा मतदाता शिक्षा कार्यकर्ता-स्वयम्सेवकलाई अनिवार्य रूपमा उपस्थित भई मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्न निर्वाचन आयोगले मतदाता शिक्षा कार्यकर्ता-स्वयम्सेवकलाई निर्देशन दिएको प्रवक्ता सूर्यप्रसाद शर्माले जानकारी दिए । परिवारका सदस्यको परिचयपत्र लिन प्रमाण खुल्ने कागजपत्र हुनुपर्नेछ । नमुना मतपत्रसमेत लिएका मतदाता शिक्षा कार्यकर्ता स्वयम्सेवकले मतदाता परिचयपत्र लिन आउने मतदातालाई मतदान गर्ने सही तरिका सिकाउने छन ।