७१ प्रतिशत मत खस्यो, सबैभन्दा बढी रसुवामा, कम रामेछापमा

Date:May 15, 2017

निर्वाचन आयोगले स्थानीय तहअन्तर्गत पहिलो चरणमा मुलुकका ३४ जिल्लामा आइतबार भएको निर्वाचनमा करिब ७१ प्रतिशत मत खसेको प्रारम्भिक अनुमान गरेको छ ।

आयोगका अनुसार पहिलो चरणको स्थानीय तहको निर्वाचनअन्तर्गत ३४ जिल्लाका २८१ मतदान केन्द्रमा भएको मतदानमा रसुवामा सबैभन्दा बढी ८२ प्रतिशत मत खसेको छ । त्यसपछि हिमालपारिको जिल्ला डोल्पामा ८१ प्रतिशत मत खसेको छ ।

त्यस्तै, भक्तपुर र गोरखामा ८० प्रतिशत मत खसेको छ भने सबैभन्दा कम रामेछापमा ५४ प्रतिशत मत खसेको निर्वाचन आयोगले जनाएको छ ।

निर्वाचन आयोगमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवले ३, ४ र ६ नम्बर प्रदेशका २८१ स्थानीय तहमा भएको निर्वाचनमा ७१ प्रतिशत मत खसेको प्रारम्भिक विवरण प्राप्त भएको जानकारी दिनुभयो ।

आम मतदाताको ठूलो सहभागिता एवम् शान्तिपूर्ण र व्यवस्थितरुपमा सम्पन्न भएको स्थानीय तहको निर्वाचनपछि सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान कार्यान्वयनमा महत्वपूर्ण योगदान पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो ।

गाउँपालिकाका अध्यक्ष तथा उपाध्यक्ष, नगरपालिकाका प्रमुख तथा उपप्रमुख, वडा अध्यक्ष, वडा सदस्य, महिला वडा सदस्य र दलित वडा सदस्य पदका लागि भएको निर्वाचनमा विशेष गरी महिला, दलित, अल्पसङ्ख्यक समुदायको सहभागिता निकै उत्साहप्रद रहेकोमा आयोगले हर्ष प्रकट गरेको छ ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भन्नुभयो– “स्थानीय तहका लागि भएको मतदान कार्य छिटफुट घटनाबाहेक शान्तिपूर्ण, उत्साहजनक र मतदाताको व्यापक सहभागितामा सम्पन्न भएको छ । मतदाता महानुभावले लोकतान्त्रिक अभ्यासमा देखाउनु भएको व्यापक सहभागिताप्रति आयोग हार्दिक धन्यवाद ज्ञापन गर्दछ ।”

आयोगले नचाहँदा नचाहँदै पनि काभ्रेको नमोबुद्ध नगरपालिका–४ को मतदान केन्द्र, कालीकोटको कालिका गाउँको बालाचौर आधारभूत विद्यालयमा भएको मतदान केन्द्रको निर्वाचन स्थगित भएको तथा दोलखाको मेलुङ गाउँपालिकाअन्तर्गत सत्येश्वर मतदान केन्द्रमा सुरक्षा कारबाहीमा एक जनाको निधन भएको घटनाप्रति आयोगले दुःख व्यक्त गरेको छ ।

मतदान कार्य सम्पन्न भएसँगै सबैै मतपेटिका सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा ल्याउने कार्य भइरहेको तथा हिमाली तथा पहाडी जिल्लाका विकट मतदान केन्द्रबाट मतपेटिका सङ्कलन गर्न हेलिकप्टरको प्रयोग भइरहेको उहाँले जानकारी दिनुभयो ।

पहिलो चरणको निर्वाचन २८३ स्थानीय तहका लागि भए पनि २८१ स्थानमा मात्रै मतदान भएको थियो । मनाङ जिल्लाको नारफु गाउँपालिका र डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिकामा यसअघि नै निर्विरोध निर्वाचन भइसकेका थिए ।

काठमाडौँ उपत्यकासहित ३४ वटै जिल्लाका सहरदेखि गाउँ बस्तीमा रहेका मतदान केन्द्रमा मतदाता बिहान ७ बजेअघिदेखि नै मतदान केन्द्रअघि पङ्क्तिबद्ध भएर युवा पुस्तादेखि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, किरियापुत्री, दृष्टिविहीनसम्मले निकै उत्सुकतापूर्वक सहभागिता जनाएको भनी उहाँले मतदाताको प्रशंसा गर्नुभयो ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले आजको मतदानमा देखिएको सहभागिताले जेठ ३१ गते हुने दोस्रो चरणको निर्वाचनमा सहभागी हुनुहुने मतदातालाई पनि उत्साहित बनाउनेछ भन्ने विश्वास आयोगले लिएको बताउनुभयो ।

मतदान कार्य सम्पन्न भएका स्थानीय तहका मतपेटिका सम्बन्धित स्थानीय निकायको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा प्राप्त भएपछि मतगणना प्रक्रिया अगाडि बढाइनेछ ।

आयोगमा प्राप्त मत प्रतिशत अनुसार १. दोलखा ६२, २. रामेछाप, ५४, ३. सिन्धुली ७५, ४. काभ्रेपलाञ्चोक ६०, ५. सिन्धुपाल्चोक ७०, ६. रसुवा ८२, ७. नुवाकोट ७०, ८. धादिङ ७५, ९ चितवन ७०, १०, मकवानपुर ७०, ११ भक्तपुर, ८०, १२ ललितपुर ७५, १३ काठमाडौँ ७५, १४ गोरखा ८०, १५ जाजरकोट ७३, १६ लमजुङ ७१, १७ तनहुँ ७०, १८ कास्की ७५, १९ मनाङ ५८, २० मुस्ताङ ७५, २१ पर्वत ६५, २२ स्याङ्जा ७०, २३ म्याग्दी, ६०, २४ बागलुङ ६७, २५ नवलपरासी ७३, २६ सल्यान ७१, २७ डोल्पा ८१, २८ जुम्ला ७०, २९. मुगु ७०, ३०. हुम्ला,७५, ३१. कालीकोट ६०, ३२. दैलेख ७०, ३३. सुर्खेत ७०, ३४. रुकुम ७५


Loading...

Facebook