
सर्लाहीको चक्रघट्टा गाउँपालिकामा माओवादी केन्द्र विजयी भएको छ । अध्यक्षमा विक्रम यादव र उपाध्यक्षमा बसोधा देवी विजयी भएका हुन् । त्यस्तै सर्लाहीको लालबन्दी नगरपालिकामा नेकपा एमालेले मेयर र उपमेयरसहित अधिकांश वडामा जित हात पारेको छ ।
शनिवार बिहान सम्पन्न मतगणनामा एमालेका मानबहादुर खड्का करिब ४ हजार मतको फराकिलो अन्तरले मेयरमा निर्वाचित भए । खड्काले ८ हजार ९४९ मत पाएर जित्दा निकटतम प्रतिस्पर्धी माओवादी केन्द्रका इन्द्रबहादुर योञ्जन ५ हजार ६ सय ३९ मतमा रोकिए ।
उपमेयरमा एमालेकै शान्तिकुमारी लामा ७ हजार ९ सय ३४ मतका साथ विजयी भएकी छन् । निकटतम प्रतिद्वन्द्वी माओवादी केन्द्रकी शान्ता उपाध्यायले ५ हजार ५ सय ६१ मत ल्याइन् ।
त्यस्तै सर्लाहीको चक्रघट्टा गाउँपालिकामा निर्वाचित विक्रमले राजपाका कृष्णकुमार यादवलाई ६८ मत अन्तरले हराए । विक्रमले ३ हजार २१६ मत र कृष्णकुमारले ३ हजार १४८ मत पाएका छन् । विक्रम यादव माओवादीमा हालै प्रवेश गरेका फोरम लोकतान्त्रिकका नेता रामेश्वर रायका छोरा हुन् ।
त्यसैगरी उपाध्यक्षमा माओवादी केन्द्रकी बसोधा देवीले ३ हजार ३१० मत पाएर विजयी हुादा उनको निकटतम प्रतिद्वन्द्वी राजपाकी फुलबन्ती साहको पक्षमा ३ हजार ५० मत परेको छ ।