
प्रतिनिधिसभाका लागि एकमात्र निर्वाचन क्षेत्र रहेको बझाङमा प्रतिनिधिसभा र प्रदेशसभाका सबै सिटमा वाम गठबन्धन विजयी भएको छ ।
शुक्रबार दिउँसो घोषणा भएको परिणामअनुसार नेपाली काँग्रेसका उम्मेदवारलाई पछि पार्दै गठबन्धनका उम्मेदवारले जित हात पारेका हुन् ।
वाम गठबन्धनका तर्फबाट प्रतिनिधिसभाका उम्मेदवार रहेका नेकपा (एमाले)का भैरवबहादुर सिंहले नेपाली काँग्रेसका पृथ्वीबहादुर सिंहलाई सात हजार ७०२ मत अन्तरले पछि पार्दै जित हासिल गर्नुभएको हो । भैरवले ३४ हजार ६१२ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी पृथ्वीले २६ हजार ९१० मत प्राप्त गर्नुभएको थियो ।
यस्तै प्रदेश (क) मा पनि नेकपा (एमाले)का उम्मेदवार अर्जुनबहादुर थापा विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका उम्मेदवार चन्द्रा जोशीलाई चार हजार ६७१ मतको अन्तरले पराजित गर्नुभएको हो । थापाले १७ हजार ८६८ र जोशीले १३ हजार १९७ मत प्राप्त गर्नुभएको थियो ।
प्रदेश (ख) मा नेकपा (माओवादी केन्द्र)की उम्मेदवार देवकी मल्ल विजयी हुनुभएको छ । उहाँले नेपाली काँग्रेसका नेता तथा पूर्वराज्यमन्त्री नरेशबहादुर सिंहलाई दुई हजार ५०१ मतको अन्तरले हराउनुभएको हो । मल्लले १६ हजार ७४३ मत प्राप्त गर्नुभएको थियो भने उहाँका निकटतम प्रतिद्वन्द्वी सिंहले १४ हजार २४२ मत प्राप्त गर्नुभएको थियो ।
मत परिणाम घोषणा भएपछि सञ्चारकर्मीसँगै प्रतिक्रिया दिँदै विजयी उम्मेदवारले संविधानको कार्यान्वयन, जिल्लाको विकास र समृद्धिका लागि आफूहरुले भूमिका खेल्ने प्रतिक्रिया दिनुभएको थियो ।