तीन सय छ तहको परिणाम सार्वजनिक एमाले पहिलो, कांग्रेस दोस्रो

Date:July 5, 2017

असार १४ गते भएको स्थानीय तहको ३५ जिल्लाका ३३४ स्थानीय तहमध्ये बुधबार बिहानसम्म ३०६ स्थानको मतगणना सकिएको छ । प्राप्त परिणाममा एमाले अग्रस्थानमा छ ।

यो समाचार तयार पार्दासम्म १३३ स्थान जितेर नेकपा एमाले अग्रस्थानमा छ । मतगणना भइरहेका १९ स्थानमा अग्रता राख्दै एमालेले दोस्रो चरणमा पनि पहिलो स्थान सुरक्षित गरेको छ ।

दोस्रो दल बनेको नेपाली कांग्रेसले ११७ स्थान जितेको छ । मतगणना भइरहेकामा कांग्रेसको अग्रता जम्मा ४ स्थानमा अग्रता छ । त्यस्तै माओवादी केन्द्र ३६ स्थानीय तह जितेर तेस्रो स्थानमा रहेको छ । माओवादीले मतगणना भइरहेका दुई स्थानमा अग्रता लिइरहेको छ ।

संघीय समाजवादी फोरमले ६ स्थानीय तह जितेर एक स्थानमा अग्रता लिइरहेको छ भने फोरम लोकतान्त्रिकले पनि ६ स्थान जितेको छ । राप्रपाले ४ स्थानीय तह जितेर छैटौं स्थानमा रहेको छ भने राष्ट्रिय जनमोर्चा २ स्थानीय तह जितेर सातौं स्थानमा छ ।

२ स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जितेका छन् । राजपा समर्थित स्वतन्त्र उम्मेदवारले रुपन्देही र कपिलबस्तुका ४ स्थानीय तहमा अग्रता लिइरहेका छन् ।

३० स्थानीय तहको मतपरिणाम आउन बाँकी रहदा अधिकांश ठाउँमा गणना भइरहेको छ । धरान उपमहानगरपालिका,झापाको अर्जुनधारा नगरपालिका,मोरङको पथरी शनिस्चरे नगरपालिकामा विवादका कारण मतगणना स्थगित छ ।

प्रदेशगत रुपमा हेर्दा एमालेले एक नम्बर प्रदेशमा ५८ स्थानीय तह जितेको छ भने कांग्रेसले ४७ स्थान जितेको छ । गणना भइरहेका अधिकांश स्थानीय तहमा एमालेको अग्रता रहेकाले १ नम्बर प्रदेशमा एमालेको बहुमत आउने सम्भावना छ ।

५ नम्बर प्रदेशमा एमालेले ३९ स्थान जितेको छ भने कांग्रेसले ३३ स्थान जितेको छ । गणना भइरहेका ठाउ ४ ठाउँमा एमालेको अग्रता छ भने कांग्रेसको कुनै पनि स्थानमा अग्रता नरहेकाले ५ नम्बर प्रदेशमा एमालेनै ठूलो दल बन्ने सम्भावना छ ।

७ नम्बर प्रदेशमा कांग्रेसले ३७ र एमालेले ३६ स्थान जितेका छन् । गणना भइरहेका ३ नगरपालिकामा एमालेको अग्रता छ भने एउटामा कांग्रेसको अग्रता रहेको छ ।

मतगणना भइरहेका २८ स्थानीय तहमा एमाले १९, कांग्रेस ३, माओवादी र संघीय फोरमको दुई दुई स्थानमा अग्रता कायम गरिरहेका छन् ।


Loading...

Facebook