जनताको शिर निहुरिन दिने छैनौँ : नेम्वाङ

Date:December 11, 2017

सुवास नेम्वाङ

पूर्वसभामुख तथा इलाम क्षेत्र नं २ बाट नवनिर्वाचित सांसद सुवास नेम्वाङले प्रमुख प्रतिपक्षको सल्लाहबमोजिम नै सरकार अघि बढ्ने बताउनुभएको छ ।

“विजयोत्सवमा इलाम चोकबजारमा आइतबार आयोजित कार्यक्रममा उहाँले प्रतिपक्ष भनेको राज्यको अभिन्न अंग हो, उसको पनि हामी सम्मान गरेर सल्लाहबमोजिम अघि बढ्छौँ”, भन्नुभयो । “निर्वाचन मंसिर २१ गते प्रतिस्पर्धा थियो तर अब त्यो सकिएको छ, सबैले जितेका छौँ, पराजित हुनेलाई पनि हामी भेदभाव गर्ने छैनौँ,” उहाँले भन्नुभयो, “जनताको शिर निहुरिने खालको केही पनि गर्दैनौँ, कानूनसम्मत तरिकाले चल्छौँ ।”

वाम घोषणापत्रमा उल्लेख भएबमोजिमका कुरालाई विशेष प्राथमिकता दिने भन्दै आगामी पाँच वर्षभित्रमा इलामलाई देशकै नमूना जिल्ला बनाउने उद्घोषसमेत गर्नुभयो । “नेपाली जनतालाई अब कुनै पनि प्रकारको अधिनायकवाद, निरङ्कुशता, स्वेच्छारिता र तानाशाह आवश्यकता छैन, अब देश शान्ति र समृद्धिको बाटोमा उन्मुख हुन्छ,” भन्नुभयो ।

जनताले ७० वर्षदेखि चाहेको लोकतान्त्रिक संविधानको सफल कार्यान्वयन तीनै तहको सफल निर्वाचनले पुष्टि गरिसकेको उहाँले बताउनुभयो । इलामको विकास निर्माणमा प्रतिबद्ध भएर लाग्ने विचार व्यक्त गर्दै उहाँले निर्वाचनका समयमा नागरिकसँग भोट माग्दा गरिएका वाचा पूरा गर्ने प्रतिबद्धतासमेत जाहेर गर्नुभयो ।

सोही अवसरमा इलाम क्षेत्र नं २ (ख)का प्रदेशसभा सदस्य धीरेन्द्र शर्माले जनताले चाहेको आर्थिक र समृद्धिको शुरुवात गरिने बताउनुभयो । विकास पूर्वाधारलाई पहिलो प्राथमिकता दिने बताउँदै उहाँले आफूले जितेको क्षेत्र कर्णाली जस्तै भएकाले त्यसको विकास र समृद्धिमा आफू कटिबद्ध रहने विचार व्यक्त गर्नुभयो ।

त्यस्तै इलाम क्षेत्र नं २ (क)का प्रदेशसभा सदस्य राम रानाले पूर्वाधारको विकासमा आफ्नो पहल रहने बताउनुभयो । उहाँले रोजगार प्राप्त गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गरेर त्यसलाई रोजगारको व्यवस्थापन गर्दै उद्योग, कलकारखाना खोलेर बेरोजगार युवालाई रोजगारको ग्यारेन्टी गरिने बताउनुभयो । इलामको ठूलो टुँडिखेलबाट शुरु भएको विजय र्याली चोकबजारमा आएर कोणसभामा परिणत भएको थियो ।

खनालले इलाम क्षेत्र नं १ र नेम्वाङले क्षेत्र नं २ बाट उम्मेदावरी दिने


Loading...

Facebook