
देशभरबाट चुनावी परिणाम आइरहँदा नेपाली कांग्रेसका थुप्रै वरिष्ठ तथा चर्चित नेताहरुले हारको सामना गर्नु परिरहेको देखिन्छ।
कहाँ-कहाँ कसले हराए (वा हराउनै लागे) त यी चर्चित अनुहारहरुलाई?
रामचन्द्र पौडेल, तनहुँ १
कांग्रेसका वरिष्ठ नेता पौडेललाई वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले पाँच हजारभन्दा बढीको मत अन्तरले पछि पारिसकेका छन्। यसअघि सोही जिल्लाबाट पौडेलले वि.सं. २०४८ देखि लगातार जित्दै आएका थिए। यसपटक भने उनले त्यहींकै अर्का प्रभावशाली कांग्रेस नेता गोविन्दराज जोशीबाट समेत सहयोग नपाएको बताइन्छ। अन्तिम परिणाम आउँदै गर्दा बीबीसीलाई प्रतिक्रिया दिँदै पौडेलले भने – “देशभरी कांग्रेस विरोधी हावा कसरी चल्यो? यसको समीक्षा हुनुपर्छ। यो मलाई अप्रत्याशित लागेको छ। मैले तनहुँको जनतामाथि ठूलो विश्वास गरेको थिएँ।” साथै उनले भने, “अब कांग्रेसले पार्टीलाई नयाँ रक्तसञ्चार गराउनपर्छ। विशेष योजना र प्रस्तावसहित महाधिवेशन गर्नुपर्छ।”
विमलेन्द्र निधि, धनुषा ३
कांग्रेसका नेता निधिलाई राष्ट्रिय जनता पार्टी नेपालका नेता राजेन्द्र महतोले झण्डै तीन हजारको मत अन्तरले जितेका छन्। कुल खसेको सदर मत ६२,२४३ मध्ये महतोले ३०,७५० पाएका छन् भने निधिले २७,८४७ पाएका छन्। यी दुई नेताबीचको प्रतिस्पर्धालाई देशभरबाटै निकै चासोका साथ हेरिएको थियो।
कृष्ण सिटौला, झापा ३
२०६२/६३ को जनआन्दोलनपछि कांग्रेस पार्टीको शीर्ष तहमा उदाएका कृष्ण सिटौला पार्टीभित्र शक्तिशाली र प्रभावशाली मानिन्छन्। तर यसपटक उनलाई हिन्दू राष्ट्रको वकालत गर्दै आएको राष्ट्रिय प्रजातन्त्र पार्टीका युवा नेता राजेन्द्र लिङ्गदेनले १२ हजारको मत अन्तरले पछि पारिसकेका छन्।
महेश आचार्य, मोरङ्ग ४
कांग्रेसका केन्द्रीय नेता महेश आचार्यलाई माओवादी केन्द्रका अमनलाल मोदीले पराजित गरिदिएका छन्। कुल खसेको सदर मत ६६,९२९ मध्ये आचार्यले २६,८०० पाएका थिए भने मोदीले ३३,५२९ पाएका थिए।
शेखर कोइराला, मोरङ्ग ६
कोइरालालाई वाम गठबन्धनका तर्फबाट नेकपा एमालेका अर्का चर्चित नेता लालबाबु पण्डितले पराजित गरिदिएका छन्। उनले पण्डितभन्दा करिब सात सय मत कम पाए। कुल खसेको सदर मत ७४,८७३ मध्ये कोइरालाले ३३,२६६ पाएका थिए भने पण्डितले ३३,९४१ पाएका थिए।
रामशरण महत, नुवाकोट १
पटक पटक अर्थमन्त्री भइसकेका चर्चित कांग्रेसी नेता महतलाई यसपटक आफ्नो गृहक्षेत्रमा माओवादी केन्द्रका हितबहादुर तामाङले सात हजारको मत अन्तरले पछाडि पारिसकेका छन्। अन्तिम परिणाम आउँदै गर्दा सामाजिक सञ्जालको ट्वीटरमार्फत महतले भने, “विगत २३ वर्षमा लगातार चार पटकको विजय पछि यस संसदीय निर्वाचनमा मेरो पराजयलाई परिवर्तनको जनचाहना मान्दै विजयी हितबहादुर तामाङलाई बधाई र शुभकामना दिन्छु।”
अन्य हारिसकेका नेताहरु: अर्जुननरसिंह केसी, प्रकाशशरण महत, नविन्द्रराज जोशी, मोहन बस्नेत दमननाथ ढुंगाना, विश्वप्रकाश शर्मा, चीनकाजी श्रेष्ठ, र चन्द्र भण्डारी।
हारको संघारमा पुगेका वा निकै पछाडि परिरहेका कांग्रेसका चर्चित नेताहरु: उदय शमशेर जबरा, गोविन्दराज पोखरेल, आरजु राणा देउवा र सुनीलकुमार भण्डारी प्रतिस्पर्धीभन्दा पछि परिरहेका छन्। उदय शमशेरलाई ललितपुर क्षेत्र नम्बर १ मा प्रहरी सेवाबाट हालै राजीनामा दिई नेकपा एमालेमा प्रवेश गरेका नवराज सिलवालले ६ हजार मत अन्तरले पछि पारिसकेका छन्।
(स्रोत: निर्वाचन आयोग, आइतबार दिउँसो १२ बजेसम्मको मतगणना बमोजिम)बीबीसी